हेटौंडाको चौकीटोल–जरूवाटोलमा सार्वजनिक जमिन कब्जा, संरक्षण समितिले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझायो

Image

हेटौंडा/  हेटौंडा–१ अन्तर्गत चौकीटोल र जरूवाटोल क्षेत्रमा रहेको सार्वजनिक जमिन कब्जा गरिएको भन्दै स्थानीयवासीहरू आन्दोलित भएका छन्। सोही विषयमा चौकीटोल–जरूवाटोल सार्वजनिक जमिन संरक्षण समितिले प्रमुख जिल्ला अधिकारी (प्रजिअ) मालपोत कार्यालय, नगरप्रमुख समक्ष ज्ञापनपत्र बुझाएको छ।

ज्ञापनपत्रमा वडाका केही प्रतिनिधि र स्थानीय युवाहरूको समूहले हेटौंडा तरकारी तथा शाकसब्जी मण्डीको उत्तरतर्फ रहेको सार्वजनिक जमिन कब्जा गरी अनाधिकृत रूपमा विक्री वितरण गरेको आरोप लगाइएको छ। समितिका संयोजक दिपक प्रसाद परियारका अनुसार, सार्वजनिक जमिनमाथि गैरकानुनी रूपमा स्वामित्व दाबी गर्दै निजी उपयोगका लागि प्रयोग गर्न थालिएको छ।
“सार्वजनिक जमिनमाथि कब्जा हुनु अत्यन्तै गम्भीर विषय हो। यसमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याई कारबाही गरिनुपर्छ,” संयोजक परियारले बताए।

समितिले सो जमिनलाई भूमिहीन र सुकुम्बासीहरूका लागि आवास व्यवस्थापनमा प्रयोग गर्नुपर्ने माग पनि अघि सारेको छ। सार्वजनिक सम्पत्तिको संरक्षण र न्यायपूर्ण उपयोगका लागि सम्बन्धित निकायको तत्काल हस्तक्षेप आवश्यक रहेको समितिको भनाइ छ।
प्रमुख जिल्ला अधिकारीले उक्त ज्ञापनपत्रलाई गम्भीरतापूर्वक लिँदै आवश्यक अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएका छन्।