सुख्खा पहिरोले कान्तिलोकपथ अवरुद्ध, सडक खुलाउन प्रयास जारी

Image

हेटौंडा/  बागमती प्रदेशको राजधानी हेटौंडा हुँदै ललितपुर जोड्ने वैकल्पिक मार्गका रूपमा रहेको कान्तिलोकपथ सुख्खा पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध बनेको छ।

मकवानपुरको भिमफेदी गाउँपालिका–८, भर्याङडाँडास्थित सडक खण्डमा विहीबार बिहान अचानक सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको मकवानपुर प्रहरीले जनाएको छ। पहिरोसँगै ठूला ढुङ्गा खसेका कारण सडक पूर्ण रूपमा बन्द भएको हो।

सडक अवरुद्ध हुँदा हेटौंडा–काठमाडौंतर्फका यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ। घटनास्थलमा प्रहरी टोली खटिएको छ भने सडक खुलाउन कान्ति राजमार्ग सडक आयोजनासँग समन्वय भइरहेको प्रहरीले जानकारी दिएको छ।

पछिल्लो समय लगातारको वर्षा नभएको भए तापनि सुख्खा पहिरो खस्नुले स्थानीयमा चिन्ता बढाएको छ। सम्बन्धित निकायले पहिरो पन्छाएर सडक सुचारु गर्नका लागि आवश्यक उपकरणसहितको टोली परिचालन गरिरहेको जनाएको छ।