हेटौँडा/ विद्यार्थीमा नेतृत्व क्षमता, व्यक्तित्व विकास, समालोचनात्मक सोच, सहकार्य र अन्तर्राष्ट्रिय समझदारी अभिवृद्धि गर्ने उद्देश्यले हेटौँडा–४ स्थित नवोदय शिशु सदनको आयोजनामा नमुना संयुक्त राष्ट्र संघीय परिषद् (Model United Nations – MUN) सम्पन्न भएको छ।
तीन दिनसम्म चलेको परिषद् जेठ १५ गतेदेखि सुरु भई शनिबार समापन गरिएको हो। परिषद्मा नवोदय शिशु सदनसहित मकवानपुरका विभिन्न विद्यालय र अन्य जिल्लाका प्रतिष्ठित विद्यालयहरू — आरम्भ एकेडेमी (नवलपरासी), एपेक्स स्कूल (बुटवल), नेपाल पुलिस स्कूल (रौतहट), पोखरा लर्नर एकेडेमी (पोखरा), इन्टरनेशनल स्कूल (चितवन) — का विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो।
विद्यार्थीहरूले विभिन्न राष्ट्रका प्रतिनिधिको भूमिका निर्वाह गर्दै संयुक्त राष्ट्रसंघ अन्तर्गतका विविध निकायहरू जस्तै विश्व स्वास्थ्य संगठन (WHO), सुरक्षा परिषद्, मानवअधिकार परिषद्, विकास कार्यक्रम (UNDP), वातावरण कार्यक्रम (UNEP) आदि अन्तर्गत समसामयिक तथा जटिल अन्तर्राष्ट्रिय मुद्दामा बृहत छलफल गरेका थिए।
परिषद्मा किशोर स्वास्थ्य सेवा सुधार, गर्भपतन रोकथाम, आणविक निशस्त्रीकरण, युद्ध अपराध विरुद्धको रणनीति र द्वन्द्वग्रस्त क्षेत्रको संकट समाधान जस्ता विषयमा गहन विश्लेषण प्रस्तुत गरिएको थियो।
विद्यालयका माध्यमिक संयोजक सिएम रिमालका अनुसार, कार्यक्रमको उद्देश्य विद्यार्थीलाई सक्रिय छलफल, तार्किक अभिव्यक्ति र अन्तर्राष्ट्रिय विषयवस्तुको समझदारीमा आधारित शिक्षा प्रदान गर्नु रहेको हो। परिषद्मा विद्यार्थीहरूले वास्तविक संयुक्त राष्ट्रसंघमा जस्तै प्रक्रिया र कार्यपद्धति अनुकरण गरी वैश्विक समस्याको समाधानतर्फ सोच विकसित गर्ने अवसर प्राप्त गरेको रिमालले जानकारी दिए।
परिषद्को महासचिवको भूमिका निकेश श्रीवास्तवले सफलतापूर्वक निर्वाह गरेका थिए। विद्यालयले प्रत्येक वर्ष नियमित रूपमा यस्ता शैक्षिक र सृजनात्मक कार्यक्रम आयोजना गर्दै आएको जनाएको छ।

















