हेटौंडा–११ मा विश्व वातावरण दिवसको अवसरमा भव्य कार्यक्रम सम्पन्न

Image

हेटौंडा/  ५३ औँ विश्व वातावरण दिवस २०८२ को अवसरमा हेटौंडा उपमहानगरपालिका वडा नं. ११ मा भव्य वातावरणीय सचेतना कार्यक्रम सम्पन्न भएको छ। “प्लास्टिक प्रदूषण अन्त्य गरौँ” भन्ने नारासहित आयोजित उक्त कार्यक्रम विविध प्रदर्शनी, पुरस्कार वितरण तथा सम्मानसहित सम्पन्न भएको हो।

कार्यक्रम वडा नं. ११ टोल विकास समन्वय समितिको आयोजनामा सम्पन्न भएको थियो। उद्घाटन कार्यक्रम हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यता तथा वडा नं. ११ की वडा अध्यक्ष जुना दाहालको साथै हेटौंडा उपमहानगरपालिका टोल विकास समन्वय समिति अध्यक्ष धुर्व अधिकारीको विशेष आतिथ्यता रहेको थियो। कार्यक्रमको सभाध्यक्षता नगर समन्वय समितिका  अध्यक्ष यज्ञबहादुर आचार्यले गर्नुभएको थियो।

वातावरणीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा स्थानीय २३ वटा टोल विकास संस्थाहरूको सक्रिय सहभागिता रहेको थियो। संस्थाहरूले प्लेकार्ड, ब्यानर, सरसफाइ अभियान र विविध रचनात्मक प्रदर्शनीमार्फत जनचेतना फैलाउने प्रयास गरेका थिए।

पुरस्कार प्राप्त टोल विकास संस्थाहरू:
• प्रथम: झोलुङ्गेपुल टोल विकास संस्था
• दोस्रो: शान्तिचोक टोल विकास संस्था
• तेस्रो: प्रगति टोल विकास संस्था
• चौथो स्थान: तल्लोताल टोल विकास संस्था
• सान्त्वना पुरस्कार: जिम्बाडाँडा टोल विकास संस्था र सुर्योदय टोल विकास संस्था।

कार्यक्रममा वडा सदस्यहरू गोपिनी सापकोटा, सञ्जय बिडारी, विकास नेपाल र गीता सुनारसहित विभिन्न टोल विकास संस्थाका अध्यक्षहरू तथा स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

आयोजक समितिका अनुसार, कार्यक्रमले वातावरण संरक्षणप्रतिको स्थानीय चेतना र जिम्मेवारीमा वृद्धि गर्ने अपेक्षा गरिएको छ। साथै, आगामी दिनहरूमा यस्ता कार्यक्रमहरूलाई अझ प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।