भोलि देखी देशभर सार्वजनिक यातायात व्यवसायीको अनिश्चितकालीन बन्द घोषणा

Image

 ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा सार्वजनिक यातायात व्यवसायीहरूले सोमबार (जेठ २०) देखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन्। आन्दोलनको क्रममा सवारी साधनहरू ग्यारेजमै थन्क्याइने निर्णय गरिएको छ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावली खारेज नगरेसम्म आन्दोलन नरोकिने बताएका छन्। उनका अनुसार उक्त नियमावलीले निजी प्रयोजनका लागि खरिद गरिएका सवारी साधनलाई व्यावसायिक रूपमा प्रयोग गर्न दिने व्यवस्था गरेको छ, जुन सार्वजनिक यातायात व्यवसायीहरूका लागि अन्यायपूर्ण र अस्वाभाविक भएको उनीहरूको ठम्याइ छ।

राईका अनुसार, यस विषयमा सम्बन्धित निकायलाई पटक–पटक ध्यानाकर्षण गराए पनि कुनै सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनको घोषणा गरिएको हो। “हामीले समयमै समाधानको आग्रह गर्दा पनि बेवास्ता गरियो, त्यसैले अब हामी आन्दोलनमा उत्रिनु बाध्य भएका छौं,” उनले भने।

व्यवसायीहरूका अनुसार निजी सवारी साधनले सार्वजनिक यातायातको प्रतिस्पर्धा बढाएर व्यवसाय धरापमा पार्ने खतरा रहेको छ। उनीहरूले गण्डकी प्रदेश सरकारसँग नियमावली खारेज गर्न तत्काल कदम चाल्न आग्रह गरेका छन्।

बन्दको कारण देशभरको जनजीवन प्रभावित हुने आशंका गरिएको छ, विशेष गरी दैनिक यात्रुहरू, विद्यार्थी, कर्मचारी तथा सार्वजनिक यातायातमा निर्भर व्यवसायहरूमा यसको प्रत्यक्ष असर पर्ने देखिएको छ।