मन्त्री श्रेष्ठद्वारा चितवनको फोहोर प्रशोधन उद्योगको स्थलगत निरीक्षण

Image

हेटौंडा / बागमती प्रदेशका कृषि तथा पशुपंछी विकास मन्त्री प्रकाश श्रेष्ठले चितवनको खैरहनी नगरपालिका–४, चैनपुरमा सञ्चालित फोहोर प्रशोधन उद्योगको स्थलगत अवलोकन तथा निरीक्षण गरेका छन्। उक्त उद्योग सफा ऊर्जा उत्पादन प्रा.लि.द्वारा सञ्चालित हो।
मन्त्री श्रेष्ठसँगै उद्योग वाणिज्य संघ मकवानपुरका अध्यक्ष प्रमोद सिंह रानाभाट र उपाध्यक्ष उज्वल चौलागाईं पनि निरीक्षण टोलीमा सहभागी थिए।

उद्योग परिसरमा पुगेका मन्त्री तथा प्रतिनिधिहरूलाई सफा उर्जाका निर्देशक निर्णय पौडेलले स्वागत गरेका थिए। त्यस अवसरमा सफा उर्जाका प्रतिनिधि योगेन्द्र सिंह केसीले फोहोर संकलन, प्रशोधन, प्राङ्गारिक मल उत्पादन तथा वातावरण संरक्षणमा कम्पनीले गरिरहेका कामहरूको विस्तृत जानकारी दिएका थिए।

उनका अनुसार, सफा उर्जाले स्थानीय क्षेत्रबाट फोहोर संकलन गरी त्यसलाई आधुनिक प्रविधिबाट प्रशोधन गर्ने काम गरिरहेको छ। त्यसैबाट उत्पादित प्राङ्गारिक मल कृषकहरूलाई सहज रूपमा उपलब्ध गराउने लक्ष्य कम्पनीको रहेको छ।

उद्योगको निरीक्षणपछि मन्त्री श्रेष्ठले वातावरणमैत्री प्रविधिको प्रयोग गर्दै उद्योगले स्थानीय समस्या समाधानतर्फ देखाएको पहल सराहनीय भएको बताएका थिए। उनले यस्ता परियोजनाहरूले प्रदेशको वातावरण संरक्षण र कृषि उत्पादनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।