ईन्द्रेणी मसरुम फार्मको नयाँ इकाइ मकवानपुरमा च्याउ उत्पादन गर्ने

Image

हेटौंडा/ काठमाडौंको चन्द्रागिरी नगरपालिका–१२ स्थित ईन्द्रेणी मसरुम फार्म लिमिटेडले मकवानपुरगढी गाउँपालिका–५, कालिवनमा च्याउ उत्पादनको दोस्रो इकाइ (सामरी युनिट) स्थापना गर्न लागेको छ। उक्त युनिटको शिलान्यास बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले गरेका हुन्।

शिलान्यास समारोहमा मन्त्री श्रेष्ठले बागमती प्रदेशभर करिब ६ लाख किसानको सूचीकरण, वर्गीकरण र अभिलेखिकरण अन्तिम चरणमा पुगेको जानकारी दिए। उनले प्रदेशका ६ वटा स्मार्ट फार्म सञ्चालनका लागि मन्त्रालय साझेदार बन्ने स्पष्ट पारे।

वि.सं. २०७१ मा स्थापना भएको ईन्द्रेणी मसरुम फार्मले पहिलो युनिट चन्द्रागिरीमा सञ्चालनमा ल्याएको थियो भने दोस्रो युनिट चित्लाङपछि अहिले कालिवनमा विस्तार गरिएको हो। कम्पनीले मकवानपुरको कालिवनमा ४४ कठ्ठा क्षेत्रफलमा आधुनिक च्याउ फार्म सञ्चालन गर्न लागेको हो।

कम्पनीका अध्यक्ष धर्मेन्द्र महर्जनका अनुसार, नयाँ युनिटमा उच्च प्रविधिको प्रयोग गरी दैनिक उत्पादन क्षमता सुरुमा १,००० किलो रहनेछ, जुन आगामी वर्षमा ३,००० किलो पुग्ने लक्ष्य छ। युनिटमा च्याउ उत्पादनसँगै च्याउको बीउ उत्पादन, कम्पोष्ट मल निर्माण र किसानलाई तालिम दिने कार्यक्रमसमेत सञ्चालन गरिनेछ।

उनले आगामी तीन वर्षभित्र १५ करोड रुपैयाँ लगानी गरिने र भविष्यमा थप ९ करोड रुपैयाँ लगानी गरेर युनिट विस्तार गरिने जानकारी दिए। भदौ महिनादेखि कम्पोष्ट मल उत्पादन सुरु गरिनेछ भने असोजदेखि व्यावसायिक च्याउ उत्पादन प्रारम्भ गरी देशभर वितरण गरिने योजना रहेको बताइएको छ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य केशव प्रसाद पोखरेल, विन्दु श्रेष्ठ, मकवानपुरगढी–५ का वडा अध्यक्ष रिपेश दाहाल, वडा नं. ६ का अध्यक्ष कृष्णप्रसाद बजगाई, निवर्तमान वडा अध्यक्ष टीका दाहाल, अखिल नेपाल किसान महासंघ मकवानपुरका अध्यक्ष विष्णु दंगाललगायतको उपस्थिति रहेको थियो।