स्थानीय किसानको उत्पादनलाई प्राथमिकता: मनहरी गाउँपालिकाको ‘मोही सत्कार’ अभियान

Image

हेटौंडा/ मकवानपुरको मनहरी गाउँपालिकाले आफ्ना पाहुना तथा सेवाग्राहीलाई स्वागत गर्न मोहीको प्रयोग गरेर कृषि उत्पादन प्रवर्द्धन र स्थानीय अर्थतन्त्रमा योगदान पुर्‍याउने उदाहरणीय अभ्यास थालेको छ। गाउँपालिकाको कार्यालय रजैयामा झन्डै तीन महिनादेखि चिया र बोतलबन्द चिसो पेयको सट्टा ताजा मोही प्रयोग हुँदै आएको छ।

गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीका अनुसार, यो अभियान केवल सत्कारका लागि मात्र होइन, किसानप्रतिको सहानुभूति र सहकार्यको प्रतिविम्ब पनि हो। “हामीले स्थानीय किसानले उत्पादन गरेको दूध हेटौंडा डेरीमा बेच्ने गरेका छौं, सोही डेरीबाट मोही खरिद गरी कार्यालयमा प्रयोग गर्छौं,” उहाँले भन्नुभयो।

मनहरीका दुग्ध उत्पादक सहकारीमार्फत संकलन भएको दूधको मूल्य समयमै किसानलाई उपलब्ध गराउने व्यवस्था मिलाइएको छ। पालिकाले गाईभैंसी पालनका लागि प्रोत्साहन स्वरूप प्रतिलिटर दूधमा रु. ३ को अनुदानसमेत दिँदै आएको छ।

वरिष्ठ लेखा अधिकृत एवं सूचना अधिकारी राजेन्द्र भट्टराईका अनुसार, कार्यालयमा दैनिक करिब ५० लिटर मोही खपत हुने गरेको छ। गर्मी महिनामा स्वास्थ्यका लागि लाभदायक मोहीले स्वागत गर्नु निकै प्रभावकारी भएको छ। “यो अभ्यासले नागरिकको चाहना पनि समेट्छ र किसानप्रतिको सम्मान पनि प्रकट गर्छ,” उहाँले भन्नुभयो।

गाउँपालिकाले चिसोजन्य पेय पदार्थको प्रयोगलाई निरुत्साहित गर्दै, परम्परागत स्वस्थकर पेयलाई प्राथमिकता दिएको छ। यो कदमले स्थानीय उत्पादनको खपत बढाउनुका साथै ग्रामीण कृषि प्रणालीमा सकारात्मक असर पार्ने विश्वास गरिएको छ।