हेटौंडा/ जनस्वास्थ्य कार्यालय मकवानपुरले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षका पहिलो दश महिनामा मकवानपुर जिल्लामा ४५५ जना किशोरीहरु आमा बनेका छन्।
कार्यालयले बिहीबार आयोजना गरेको स्वास्थ्य अभिमुखीकरण कार्यक्रममा प्रस्तुत तथ्याङ्क अनुसार जिल्लाभर ४,१२७ जना महिलाले सन्तान जन्माएका छन्, जसमध्ये ११.०६ प्रतिशत २० वर्ष मुनिका रहेका छन्।
मकवानपुरका दश स्थानीय तहहरूमध्ये कम उमेरमा सुत्केरी हुनेको संख्या सबैभन्दा धेरै राक्सिराङ गाउँपालिकामा रहेको जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारले जानकारी दिनुभयो। उहाँका अनुसार राक्सिराङमा कुल सुत्केरीमध्ये २४.११ प्रतिशत किशोरी उमेरमै आमा बनेका हुन्। बागमती गाउँपालिकामा २३.०४ प्रतिशत, बकैया गाउँपालिकामा १७.११ प्रतिशत र भीमफेदी गाउँपालिकामा १७.०७ प्रतिशत किशोरीहरूले सुत्केरी भएका छन्।
त्यसैगरी, कैलाश गाउँपालिकामा १५.५६ प्रतिशत र थाहा नगरपालिकामा ११.५९ प्रतिशत किशोरीहरूले २० वर्ष नपुगी आमा बनेका छन्।
प्रमुख मिजारका अनुसार अघिल्लो आर्थिक वर्षमा १०.९३ प्रतिशत किशोरी आमा बनेका थिए। यस वर्षको दश महिनाको तथ्याङ्कले अघिल्लो वर्षको तुलनामा २० वर्ष मुनिका आमा बन्ने दरमा वृद्धि देखिएको छ।
मनहरी गाउँपालिकामा १६.०५ प्रतिशत, मकवानपुरगढी गाउँपालिकामा २३.१६ प्रतिशत र हेटौंडा उपमहानगरपालिकामा ८ प्रतिशत किशोरीहरूले २० वर्ष नपुग्दै सुत्केरी भएको तथ्याङ्क सार्वजनिक गरिएको छ। यद्यपि यी तीनवटै पालिका यसअघि नै बालमैत्री क्षेत्र घोषणा भइसकेका थिए।
यसैबीच, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूले बालविवाह रोकथाम तथा न्यूनीकरणका लागि चेतनामूलक कार्यक्रमहरू सञ्चालन गरे पनि यस्ता घटनाहरूको दोहोरिन भने रोकिएको छैन।

















