हेटौंडा/ सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमा सुन, चाँदी र बहुमूल्य पत्थरमा कर वृद्धि गरेपछि व्यवसायीहरू आन्दोलित भएका छन्। मकवानपुर सुनचाँदी व्यवसायी संघले बुधबार पत्रकार सम्मेलन गर्दै करको विरोधमा चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेको हो।
संघका अध्यक्ष पवन कुमार शाक्यले राज्यको निर्णयले व्यवसाय संकटमा परेको भन्दै आफूहरू बाध्यतावश आन्दोलनमा उत्रनुपर्ने अवस्था आएको बताए। उनका अनुसार, सरकारले सुनमा २ प्रतिशत विलासिता कर र हिरा तथा बहुमूल्य पत्थरमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णय गरेपछि व्यवसाय मात्र नभई उपभोक्ता पनि प्रत्यक्ष मारमा परेका छन्।
यसअघि १० लाख रुपैयाँभन्दा बढी मूल्य भएका गहनामा मात्र विलासिता कर लाग्ने व्यवस्था थियो। तर नयाँ बजेटले सबै स्तरका सुनचाँदीका गहनामा करको बोझ बढाएको व्यवसायीहरूको गुनासो छ। व्यवसायीहरूले सुनको भन्सार शुल्क ६ प्रतिशत कायम गर्नुपर्ने र विगत १५–२० वर्षदेखि माग हुँदै आएको नीति निर्देशिका तत्काल ल्याउनुपर्ने माग राखेका छन्।
अध्यक्ष शाक्यले सरकारको अव्यावहारिक कर नीतिले व्यवसाय बन्द हुने अवस्थामा पुर्याएको उल्लेख गर्दै आन्दोलन चर्काउँदै लैजाने चेतावनी समेत दिए। उनका अनुसार, हालको कर संरचनाअनुसार १ तोलाको गहना बनाउँदा सुनको मूल्यबाहेक झण्डै ३५ हजार रुपैयाँ अतिरिक्त लागत थपिनेछ।
संघमा हाल २३० जना व्यवसायी आवद्ध रहेका छन्। केन्द्रको निर्णयअनुसार जेठ २८ र २९ गते व्यवसाय बन्द गर्दै कालीगढसहित प्रदर्शन गरिने जनाइएको छ। यसअघि जेठ २६ गते व्यवसायीहरूले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ज्ञापनपत्र पनि बुझाएका थिए। संघले सुनचाँदी कारोबारलाई व्यवस्थित बनाउन स्पष्ट नीति निर्देशिका तयार गर्न सरकारलाई पुनः आग्रह गरेको छ।

















