हेटौंडा/ हेटौंडा उपमहानगरपालिका वडा नं. १० राप्तीरोडस्थित दास इम्पोरियम कपडा पसलका सञ्चालक बिन्दल दासमाथि ज्यान मार्ने उद्देश्यले कुटपिट गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
जेठ २९ गते दिउँसो ३ बजे कपडा खरिद गर्न आएका हेटौंडा–१२ पदमपोखरी निवासी ३५ वर्षीय विजय थिङको समूहले कपडाको मूल्य बढी भएको भन्दै अश्लील शब्द प्रयोग गर्दै पसल सञ्चालकसँग विवाद गरेका थिए । विवादकै क्रममा थिङले काठको बेलन प्रहार गरी सञ्चालक दासको टाउकोमा गहिरो चोट पुर्याएका थिए ।
घटनाको अनुसन्धानपछि प्रहरीले मुख्य अभियुक्त विजय थिङलाई पक्राउ गरेको छ । उनलाई ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । साथै, घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान गरी खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।

















