स्वास्थ्य, सरसफाइ र सामाजिक न्यायमा जोड दिंदै मनहरी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

Image

हेटौंडा / मनहरी गाउँपालिकाले सोमबार सम्पन्न गाउँसभा अधिवेशनमार्फत आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। पालिकाले स्वास्थ्य, सरसफाइ, पूर्वाधार, पर्यटन प्रवर्द्धन र सामाजिक न्यायलाई प्राथमिकतामा राख्दै विभिन्न नयाँ र निरन्तरता दिइने कार्यक्रमहरू अघि सारेको हो।

नीतिअनुसार गर्भवती महिलाका लागि निःशुल्क आधारभूत स्वास्थ्य परीक्षण र भिडियो एक्सरे सेवा उपलब्ध गराइनेछ भने सतप्रतिशत महिलालाई स्वास्थ्य संस्थामै सुरक्षित सुत्केरी गराउने अभियान सञ्चालन गरिनेछ। जटिल रोग लागेका, गरिब, अतिविपन्न, अपांग तथा असहाय नागरिकका लागि एम्बुलेन्स सेवामा छुट प्रदान गरिने र मृगौला प्रत्यारोपण, डायलासिस, क्यान्सर तथा मेरुदण्ड पक्षघात भएका कमजोर आर्थिक अवस्थाका बिरामीलाई मासिक पाँच हजार रुपैयाँ निर्वाह भत्ता दिने कार्यक्रम ल्याइएको छ।

शुद्ध खानेपानी वितरणलाई पहिलो प्राथमिकतामा राख्दै सम्पूर्ण वडामा विस्तार गरिनेछ। पूर्ण सरसफाइयुक्त गाउँपालिका निर्माणका लागि विशेष अभियान सञ्चालन गरिने र फोहोरमैला संकलन तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने योजना पनि अघि सारिएको छ।

अल्पसंख्यक तथा सीमान्तकृत समुदाय — चेपाङ, बोटे, बनकरीया, मुस्लिम र दलित — लाई विकासको मूलधारमा ल्याउने योजना तय गरिएको छ। साथै, सम्भाव्य पर्यटकीय क्षेत्रको संरक्षण र प्रवर्द्धनका लागि आवश्यक कानुन निर्माण गर्दै ‘मनहरी पर्यटन विकास बोर्ड’ गठन गरिने नीति तय गरिएको छ।

ज्येष्ठ नागरिकका लागि दिवा विश्रामस्थल निर्माण गर्ने, बालबालिका तथा युवासँग अन्तरसम्वाद कार्यक्रम सञ्चालन गर्ने, रजैया–लामिटार–चकरी सडक निर्माणमा तीव्रता दिने र रजैया–दर्दरा पक्की पुल समयमै सम्पन्न गर्न सहकार्य गरिने उल्लेख छ। गाउँभित्रका मुख्य सडकहरूमा कालोपत्रे, ढलान र ग्रावेलको कामलाई निरन्तरता दिइनेछ। वडा नं. ३ र ४ का लागि नयाँ भवन निर्माणका लागि बजेट विनियोजन गरिने छ।

मृतक व्यक्तिका परिवारलाई गाउँपालिका अध्यक्ष वा उपाध्यक्षको उपस्थितिमा समवेदना प्रकट गर्दै २० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने नीति यथावत् राखिएको छ।
गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले सफल कार्यक्रमहरूलाई निरन्तरता दिँदै केही नयाँ कार्यक्रम थप गरिएको जानकारी दिए। अधिवेशनमा उपाध्यक्ष सीता पुलामी मगर, प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी, वडा अध्यक्षहरू तथा सदस्यहरूको सहभागिता रहेको थियो।