मकवानपुरगढी गाउँपालिका ‘पूर्ण खोप सुनिश्चित र दिगोपना’ घोषित

Image

हेटौंडा/ मकवानपुरको मकवानपुरगढी गाउँपालिका ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको गाउँपालिका’ घोषणा गरिएको छ। मंगलवार आयोजित एक औपचारिक कार्यक्रममा सो घोषणा गरिएको हो।
राष्ट्रिय पूर्ण खोप निर्देशिका अनुसार १६ महिनादेखि २३ महिनासम्मका बालबालिकाले १५ महिनाभित्र पाउनुपर्ने सम्पूर्ण खोप प्राप्त गरिसकेको आधारमा जेष्ठ २५ गतेसम्मको तथ्याङ्कका आधारमा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको हो।

घोषणासँगै जिल्ला पूर्ण खोप समन्वय समितिको सचिवालयले गाउँपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता’को प्रमाणपत्र प्रदान गरेको छ। गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो भने जनस्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य अधिकृत लक्ष्मण घिमिरेले प्रमाणपत्र हस्तान्तरण गरेका थिए।
सोही अवसरमा वडा तहका खोप समन्वय समितिहरू र वडामा रहेका स्वास्थ्य संस्थाहरुलाई पनि प्रमाणपत्र प्रदान गरिएको थियो। सबै वडाहरूमा घोषणा भइसकेपछि गाउँपालिका स्तरमा घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख ध्रुवप्रसाद लामिछानेले जानकारी गराए।

घोषणा कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मानकुमारी पाख्रीन, प्रमुख प्रशासकीय अधिकृत इञ्जिनियर सुधन लामिछाने, वडा नम्बर २ का अध्यक्ष बखानसिं पाख्रीन, वडा नम्बर ३ का अध्यक्ष भागवत घिमिरे, वडा नम्बर ४ का अध्यक्ष अर्जुन प्रसाद तिमल्सिना, वडा नम्बर ५ का अध्यक्ष दिपेश दाहाल, वडा नम्बर ७ का अध्यक्ष सुर्यबहादुर रुम्बा, जनस्वास्थ्य अधिकृत लक्ष्मण घिमिरे र खोप अधिकृत मनिर आलम लगायतको उपस्थिति थियो।

कार्यक्रममा गाउँपालिकाका शाखा प्रमुखहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, सामाजिक संघसंस्थाका प्रतिनिधिहरू, रेडक्रस, टोल विकास संस्था र स्वास्थ्यकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।