हेटौंडा/ मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका’का रूपमा औपचारिक रूपमा घोषणा गरिएको छ। असार ४ गते आयोजित विशेष समारोहबीच गाउँपालिका अध्यक्ष एवं खोप समन्वय समिति संयोजक देवकृष्ण पुडासैनी र जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य प्रशासक कृष्णबहादुर मिजारले संयुक्त रूपमा घोषणा गरेका हुन्।
उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामा, कार्यपालिका सदस्यहरू, स्वास्थ्यकर्मी, विद्यालय नर्स, महिला स्वास्थ्य स्वयंसेविका लगायतको उल्लेखनीय सहभागिता थियो। गाउँपालिकाको प्रत्येक वडामा खोप समन्वय समितिको सक्रियतामा घरदैलो सर्वेक्षण, १६ वटा खोप केन्द्रबाट नियमित मासिक सेवा, र छुटेका बालबालिकालाई समेत खोप सेवा दिइएको जानकारी गराइएको छ।

हालसम्म ०–१५ महिनाका १६३ जना र १६–२३ महिनाका ११४ जना बालबालिकाले पूर्ण खोप प्राप्त गरिसकेको तथ्यांक गाउँपालिकाले सार्वजनिक गरेको छ।
इन्द्रसरोवर गाउँपालिकामा हाल ५ वटा स्वास्थ्य केन्द्र र २ वटा सामुदायिक स्वास्थ्य इकाइ सञ्चालनमा छन्, जसले स्वास्थ्य सेवाको पहुँचलाई अझ प्रभावकारी बनाएको छ।

















