हेटौंडा/ मकवानपुर इन्द्रसरोवर गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा कार्यक्रम तथा उत्कृष्ट शिक्षक, विद्यार्थी र विद्यालय सम्मान कार्यक्रम–२०८२ भव्य रूपमा सम्पन्न भएको छ।
“प्रयोगमैत्री संरचना, शिक्षा, पर्यटन र कृषि; समतामूलक विकास, इन्द्रसरोवरको समृद्धि” भन्ने मूल नाराका साथ असार ५ गते गाउँ कार्यपालिकाको कार्यालय, कुलेखानीमा आयोजना गरिएको कार्यक्रममा सबै बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्ने उद्देश्यले निःशुल्क तथा अनिवार्य शिक्षाको घोषणा गरिएको हो।
कार्यक्रममा शिक्षामा विशेष योगदान पुर्याउने शिक्षक, उदाहरणीय उपलब्धि हासिल गर्ने विद्यार्थी तथा समग्र शैक्षिक वातावरणमा सुधार ल्याउने विद्यालयहरूलाई सम्मान गरिएको थियो। गाउँपालिकाले भौतिक पूर्वाधार सुधार, गुणस्तरीय शिक्षाको प्रवर्द्धन र स्थानीय स्रोत साधनको समुचित उपयोगमार्फत शैक्षिक विकासमा नयाँ गति दिने प्रतिबद्धता जनाएको छ।
कार्यक्रम देव कृष्ण पुडासैनीको सभाध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथिका रूपमा सामाजिक विकास मन्त्री हरि प्रभा खड्गी, विशेष अतिथि शिक्षा विकास निर्देशनालय बागमती प्रदेशका महानिर्देशक खुबिराम अधिकारी, अन्य अतिथिहरूमा निवर्तमान अध्यक्ष जीवन लामा, उपाध्यक्ष उमा कुमारी लामा, प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामा, राष्ट्रिय परीक्षा बोर्डका कार्यालय प्रमुख बद्रि बहादुर पाठक, शिक्षा विकास तथा समन्वय इकाई हेटौंडाका प्रमुख सुदिप गिरी, सामाजिक विकास कार्यालयका प्रमुख गोपाल प्रसाद कँडेल तथा विभिन्न वडाका अध्यक्षहरूको उपस्थिति रहेको थियो।

















