राक्सिराङमा टुङना–डम्फु प्रशिक्षण सुरु, मौलिक संस्कृति संरक्षणमा स्थानीय तहको पहल

Image

हेटौंडा/ मौलिक संस्कृतिहरू लोप हुँदै जान थालेपछि तिनको संरक्षण र प्रवर्द्धनमा राक्सिराङ गाउँपालिकाले सक्रियता देखाएको छ। यही उद्देश्यका साथ गाउँपालिकाले १५ दिने टुङना तथा डम्फु प्रशिक्षण कार्यक्रम सुरु गरेको हो।

प्रशिक्षणको उद्घाटन शुक्रबार मनहरीमा आयोजित एक कार्यक्रममार्फत राक्सिराङ् गाउँपालिका अध्यक्ष राजकुमार मल्लको प्रमुख आतिथ्यतामा गरिएको हो। तामाङ समुदायको मौलिक बाजा टुङना र डम्फु बनाउने तथा बजाउने परम्परा हराउँदै गएको देखेर त्यसको पुनर्जीवनका लागि तालिम सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिनुभयो। उहाँका अनुसार नयाँ पुस्तामा यस्ता परम्परागत सीपको अभाव रहेकाले प्रशिक्षण प्रभावकारी बन्ने विश्वास लिएको हो।

उपाध्यक्ष बनस्तम थिङले तामाङ समुदायसँग अहिले थर मात्र बाँकी रहेको अवस्थाले स्थानीय तहलाई मौलिकता जोगाउन थप प्रेरित बनाएको बताउनुभयो। उहाँले बहुसंख्यक तामाङ र चेपाङ समुदायको बसोबास रहेको राक्सिराङमा यिनको भाषा, भेषभूषा, गीत–संगीत संरक्षणको लागि गाउँपालिका गम्भीर बनेको उल्लेख गर्नुभयो।

बागमती प्रदेशका निवर्तमान सांसद ओम घलानले रैथाने संस्कृतिको संरक्षणतर्फ गाउँपालिकाले देखाएको लगाव प्रशंसनीय रहेको धारणा व्यक्त गर्नुभयो। कार्यक्रममा वडाअध्यक्ष उत्तम वाइबा, तामाङ पत्रकार संघ बागमती प्रदेश अध्यक्ष ज्ञानेन्द्र तामाङ, सञ्चारकर्मी शिवकुमार काशी लगायतले युवापुस्तालाई संस्कृति जगेर्नातर्फ अग्रसर गराउन यस्ता तालिम प्रभावकारी हुनेमा जोड दिनुभयो।

गाउँपालिकाले मनहरीमा रहेको एकेडमिक अर्थ इन्स्टिच्युटसँगको सहकार्यमा तालिम सुरु गरेको हो। तालिम प्रशिक्षक छेवाङ छिरिङ लामाले टुङना र डम्फु बजाउने सीप प्रदान गर्दै हुनुहुन्छ। तालिममा राक्सिराङका सबै वडाबाट करिब ५० जना प्रशिक्षार्थी सहभागी छन्।