प्रेस स्वतन्त्रतामा अवरोध: पत्रकार महासङ्घ मकवानपुरद्वारा प्रमुख जिल्ला अधिकारीको व्यवहारप्रति आपत्ति

Image

हेटौंडा/ मकवानपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) स्किम श्रेष्ठद्वारा सञ्चारकर्मीलाई समाचार संकलनमा रोक लगाएको घटनाप्रति नेपाल पत्रकार महासङ्घ मकवानपुरले आपत्ति जनाएको छ।

शुक्रबार  नेपाली कांग्रेसले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष माथि भएको घटनामा संलग्न लाई चाडो भन्दा चाडो कारवाही  गर्नुपर्ने र   राष्टिय स्वतन्त्र पार्टीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रमको समाचार संकलनका लागि पुगेका महासङ्घकी उपाध्यक्ष भावना रिजाल, सदस्य गणेश दुलाल, मनिल महतो लगायतका सञ्चारकर्मीहरूलाई फोटो खिच्न तथा भिडियो छायांकन गर्न रोक लगाइएको थियो। साथै उनीहरूलाई कार्यकक्षभित्र प्रवेश गर्न समेत दिइएन।

पत्रकार महासङ्घ मकवानपुरले उक्त व्यवहारलाई लोकतान्त्रिक मूल्य र प्रेस स्वतन्त्रताको प्रतिकूल भन्दै ध्यानाकर्षण गराएको हो। महासङ्घले प्रेस विज्ञप्तिमार्फत संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रताको सम्मान गर्न आग्रह गर्दै यस्ता प्रेसविरोधी गतिविधि दोहोरिन नदिन प्रजिअ स्किम श्रेष्ठलाई आत्मालोचनाको आग्रह गरेको छ।

सङ्घले सार्वजनिक चासोका विषयमा सञ्चारकर्मीको उपस्थिति स्वाभाविक रहेको उल्लेख गर्दै भविष्यमा पत्रकारिता कार्यमा अवरोध नगर्न सम्बन्धित सबै पक्षलाई हार्दिक अपील गरेको छ।