बकैयामा नीति तथा कार्यक्रममाथि छलफल, आवासीय विद्यालय स्थापनाको माग प्राथमिकतामा

Image

हेटौंडा / मकवानपुरको बकैया गाउँपालिकामा आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम निर्माणका लागि आयोजित सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रममा स्थानीय बासिन्दाले आवासीय विद्यालयको मागलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।

सोमबार सम्पन्न कार्यक्रममा स्थानीयले पालिकाभित्र विद्यालय जाने अभिभावकविहीन बालबालिकाको संख्या वृद्धि भएको उल्लेख गर्दै उनीहरूको शैक्षिक संरक्षणका लागि आवासीय विद्यालय आवश्यक रहेको धारणा राखेका हुन्। यस्तै, पढाइपछि अन्यत्र जाने प्रवृत्ति रोक्न पनि आवासीय विद्यालयले प्रभाव पार्ने उनीहरूको भनाइ थियो।

कार्यक्रममा प्रस्तुत सुझावहरूमा कृषि उत्पादन विशेष गरी तरकारी र फलफूलको दीगो प्रवर्द्धन, गाउँगाउँ जोड्ने तथा अन्य पालिकासँग सम्बन्ध जोड्ने सडक पूर्वाधारमा लगानी, नदी तथा खोलानाला नियन्त्रणका लागि दीर्घकालीन गुरुयोजना निर्माण, धार्मिक पर्यटकीय क्षेत्रको पहिचान र प्रवर्द्धनमार्फत आन्तरिक राजस्व वृद्धि, सामाजिक संघसंस्थासँग सहकार्यमा सुधार कार्यक्रम सञ्चालन, तथा विपद् व्यवस्थापनका लागि एकद्वार प्रणाली विकासलगायत विषयहरू समेटिएका थिए।

गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले कार्यक्रममा बोल्दै पालिकाको स्रोतले मात्र आवासीय विद्यालय सञ्चालन सम्भव नरहेको उल्लेख गर्दै प्रदेश र संघीय सरकारसँग समन्वय गरिने स्पष्ट पार्नुभयो। उहाँले बकैया–५ स्थित गीतावर आधारभूत विद्यालयमा आवासीय व्यवस्था सुरु गरिएको भए पनि सञ्चालनमा समस्या आएको जानकारी गराउनुभयो।

अध्यक्ष लामिछानेले प्रदेश सरकारले स्थानीय तहले जति भूमिका निर्वाह गर्न नसकेको उल्लेख गर्दै स्थानीय सरकारले नै उत्पादनसँग नागरिकलाई जोड्ने कार्य गर्दै आएको बताउनुभयो। विगतमा योजना धेरै बनाएर बजेट विनियोजन गरिए पनि कार्यान्वयन न्यून हुने समस्या रहेकाले आगामी वर्षमा व्यवहारिक तथा आवश्यकतामा आधारित विकासे बजेट निर्माण गरिने उहाँले स्पष्ट गर्नुभयो। साथै, सबै वडाको आवश्यकता अनुसार बजेट विनियोजन गरिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।