हेटौंडा/ हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सार्वजनिक गरेको २ अर्ब ९० करोड ३ लाख रुपैयाँको बजेटमा सामाजिक क्षेत्र, पूर्वाधार निर्माण र सेवा प्रवाहलाई उच्च प्राथमिकतामा राखिएको छ।
नगरसभामा उपमेयर राजेश बानियाँले प्रस्तुत गरेको बजेटमा चालु आवको तुलनामा १९ प्रतिशतले वृद्धि गरिएको छ। विगत वर्षको २ अर्ब ४३ करोड ८० लाख रुपैयाँको तुलनामा यो बजेट सामाजिक न्याय र पूर्वाधार सन्तुलनको अवधारणामा आधारित देखिएको छ।
बजेटमा संघीय सरकार, प्रदेश सरकार, आन्तरिक स्रोत र नगर विकास कोषको ऋणमार्फत आम्दानीको प्रक्षेपण गरिएको छ। आन्तरिक आम्दानी ६२ करोडभन्दा माथि रहेको छ भने संघीय सरकारबाट १ अर्ब १९ करोड रुपैयाँभन्दा बढी अनुदान आउने अपेक्षा गरिएको छ।
सामाजिक विकासमा उल्लेखनीय रकम विनियोजन गरिएको छ — शिक्षा क्षेत्रमा ५ करोड ५१ लाख, स्वास्थ्य क्षेत्रमा २ करोड ७८ लाख र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक कार्यक्रमका लागि १ करोड ३३ लाख ३५ हजार छुट्याइएको छ। मेयरसँग स्वास्थ्य कार्यक्रम, पोषण कोसेली, निःशुल्क बीमा र रक्त सेवा जस्ता कार्यक्रम समावेश छन्।
सार्वजनिक शिक्षाको सुदृढीकरणतर्फ भुटनदेवी माविमा मेघा विद्यालय पूर्वाधारका लागि ५० लाख विनियोजन गरिएको छ भने हेटौंडा अस्पतालमा बाल एनआईसीयू/पीआईसीयू सेवा सञ्चालनका लागि २ करोड छुट्याइएको छ।
पूर्वाधार विकासमा पनि बजेटको ठुलो हिस्सा केन्द्रित गरिएको छ। अटोभिलेज, वाटर फन पार्क, गङ्गा आरती स्थल, एकीकृत बसपार्क निर्माण तथा खेलकुद मैदान विकास जस्ता योजनाका लागि विशेष बजेट विनियोजन गरिएको छ। खेलकुद क्षेत्रका लागि २ करोड ५५ लाख र वातावरण तथा विपद् व्यवस्थापनमा ९ करोड ३६ लाखभन्दा बढी बजेट छुट्याइएको छ।
नगर विकासको सन्तुलित दृष्टिकोणका साथ स्वरोजगार, सीप विकास तालिम, सहकारी प्रवर्द्धन, उद्योग र वाणिज्य कार्यक्रमसमेत समेटिएका छन्।

















