हेटौंडा / मकवानपुरको राक्सिराङ गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रमसहित ६३ करोड ५२ लाख ३१ हजार २८९ रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
गाउँपालिकाको १८औँ गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रम अनुसार स्थानीय विकासलाई प्राथमिकता दिँदै सामाजिक सेवा, पूर्वाधार निर्माण, कृषि प्रवर्द्धन, शिक्षा तथा स्वास्थ्यमा विशेष जोड दिइएको छ।
बजेट विवरणअनुसार संघीय सरकारबाट ४३ करोड ८९ लाख ७८ हजार ४७२ रुपैयाँ, प्रदेश सरकारबाट १० करोड ५८ लाख २२ हजार ८१७ रुपैयाँ र आन्तरिक स्रोतबाट ९ करोड ४ लाख ३० हजार रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ।
कुल बजेटमध्ये ४८ करोड ५३ लाख ५४ हजार १५५ रुपैयाँ चालु खर्चतर्फ छुट्याइएको छ भने १४ करोड ९८ लाख ७७ हजार १३४ रुपैयाँ पूँजीगत खर्चका लागि विनियोजन गरिएको छ।
स्थानीय तहको सेवा प्रवाहलाई प्रभावकारी बनाउने, नागरिक सहभागिता अभिवृद्धि गर्ने र दिगो विकास सुनिश्चित गर्ने उद्देश्यसहित नीति तथा कार्यक्रम र बजेट ल्याइएको गाउँपालिकाले जनाएको छ।

















