समृद्धिको खाका कोर्दै बकैया : कृषि, युवा रोजगारी र पूर्वाधारलाई समेटिएको नीति कार्यक्रम सार्वजनिक

Image

हेटौंडा/ मकवानपुरको बकैया गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा ग्रामीण समृद्धिको नयाँ खाका प्रस्तुत गरेको छ। युवालाई रोजगारीमुखी बनाउने, कृषिमा लगानी बढाउने, पूर्वाधार विस्तार र सेवा प्रवाहमा डिजिटल प्रणालीमार्फत सुधार ल्याउने योजना समेटिएको नीति कार्यक्रमले समृद्धिको स्पष्ट दिशा औंल्याएको छ।
कार्यक्रममा कक्षा १२ उत्तीर्ण युवाका लागि इन्टर्नसिप, “नमस्ते रोजगारी” अभियान, सीप तालिम, तथा वैदेशिक रोजगार सहायता केन्द्रको घोषणा गरिएको छ।

कृषिमा “एक वडा, एक बाली” अवधारणा अनुसार काफी, अलैची, तरकारी खेतीमा व्यावसायिकता, ४ करोडको अनुदान, कृषि प्रशोधन केन्द्र र कोल्ड स्टोरको योजना प्रस्तुत गरिँदा ग्रामीण अर्थतन्त्र सुदृढ हुने अपेक्षा गरिएको छ।

सेवा प्रवाहमा ई-हाजिरी, डिजिटल नागरिक वडापत्र, नियमित कार्यसम्पादन अनुगमनको व्यवस्था गर्दै जनउत्तरदायी प्रशासनतर्फ उन्मुख हुने प्रयास देखिन्छ।
खोलानाला संरक्षण, ड्याम निर्माण, सडक विस्तार, पुल निर्माण, खेलमैदान आधुनिकीकरण र सिसिटिभी जडानजस्ता भौतिक पूर्वाधार योजनाहरू विकासको ढोका खोल्ने संकेत हुन्।

शिक्षा र स्वास्थ्यमा पनि ठूला सुधारको खाका कोरिएको छ—१५ शय्याको अस्पताललाई स्तरोन्नति, आत्महत्या निवारण कार्यक्रम, करेक्टिभ सर्जरी, ICT एकीकरणसहितको विद्यालय स्तरोन्नति योजना सार्वजनिक गरिएको छ।

गाउँपालिकाका अध्यक्ष  धर्मराज लामिछानेले नीति कार्यक्रममार्फत बकैयालाई आत्मनिर्भर, सुरक्षित र समृद्ध गाउँपालिका बनाउने लक्ष्य लिएको बताएका छन्।