इन्द्रसरोवरको नीति तथा कार्यक्रम समावेशी विकास र स्थानीय अर्थतन्त्र सुदृढीकरणमा केन्द्रित

Image

हेटौंडा/ मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ४१ करोड ७२ लाख रुपैयाँको अनुमानित बजेट तथा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै समावेशी विकास र स्थानीय अर्थतन्त्र सुदृढीकरणलाई प्राथमिकतामा राखेको छ। गाउँपालिकाको १६औँ गाउँसभामा अध्यक्ष देवकृष्ण पुडासैनीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो।

गाउँपालिकाले कृषि क्षेत्रलाई आर्थिक समृद्धिको मेरुदण्ड मानेर यसलाई आधुनिक, व्यवसायिक र बजारमुखी बनाउने योजना अघि सारेको छ। स्थानीय उत्पादनको मूल्यवृद्धि र पहुँच विस्तार गर्ने उद्देश्यले किसानमुखी कार्यक्रम लागू गरिनेछ।

पर्यटन सम्भावनाको उपयोग गर्दै पूर्वाधार निर्माण तथा प्रचारमार्फत रोजगारी सिर्जना र स्थानीय आम्दानी बढाउने रणनीति अपनाइएको छ। भौतिक पूर्वाधारमा दिगोपन, शिक्षा प्रणालीमा प्रविधिमैत्री पहुँच र स्वास्थ्य सेवामा गुणस्तर र पहुँच विस्तारजस्ता बहुआयामिक विषय समेटिएका छन्।

युवालाई लक्षित रोजगारी सिर्जनामार्फत जनशक्तिलाई उत्पादनशील क्षेत्रमा आकर्षित गर्ने र सेवा प्रवाहमा पारदर्शिता कायम गर्दै सुशासन संस्थागत गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। साथै, सामाजिक विभेद अन्त्य, न्यायोचित सेवा वितरण र विपद् व्यवस्थापनमा समेत विशेष ध्यान दिइने बताइएको छ।