लागूऔषधविरुद्धको अन्तर्राष्ट्रिय दिवसमा हेटौंडामा प्रभातफेरी सम्पन्न, युवाको उत्साहजनक सहभागिता

Image

हेटौंडा/ ‘लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस–२०२५’ को अवसरमा हेटौंडामा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ। “समाधानमा सहकार्य, लागूऔषध रहित समाज निर्माणमा साझा प्रतिबद्धता” भन्ने नाराका साथ आयोजित कार्यक्रममा सरकारी, गैरसरकारी, शैक्षिक संस्था, सुरक्षा निकाय, सामाजिक संघसंस्था तथा युवाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रम बिहीबार बिहान हेटौंडाको बसपार्क क्षेत्रबाट सुरु भई मुख्य बजार परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालयको प्रांगणमा समापन गरिएको हो। प्रभातफेरीमा सहभागीहरूले लागूऔषधको प्रयोग र ओसारपसारविरुद्ध जनचेतना जगाउने नारासहितको प्लेकार्ड बोकेका थिए।

कार्यक्रममा मकवानपुर जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, संघसंस्था, रेडक्रस, स्थानीय विद्यालय, सामाजिक अभियन्ता र सञ्चारकर्मीहरूको सक्रिय सहभागिता देखिएको थियो। प्रभातफेरीमा विशेषगरी विद्यालयका बालबालिकाहरूको उत्साह उल्लेखनीय रहेको थियो।

प्रत्येक वर्ष जुन २६ मा संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर लागूऔषध दुरुपयोग र तस्करीविरुद्ध चेतनामूलक कार्यक्रमहरू आयोजना गरिँदै आएको छ।