चित्लाङ–चन्द्रागिरी सडकमा सवारी ठक्कर: वृद्धको काठमाडौँमा मृत्यु, सवारी फरार

Image

हेटौंडा/ मकवानपुरको थाहा नगरपालिका–१ कुन्छालस्थित चित्लाङ–चन्द्रागिरी सडकखण्डमा सवारी ठक्करबाट गम्भीर घाइते भएका एक वृद्धको काठमाडौँमा उपचारको क्रममा मृत्यु भएको छ।

आज दिउँसो करिब ३ बजेको समयमा हाल नम्बर नखुलेको के–कुन सवारी साधनले थाहा नगरपालिका–६ बज्रबाराही निवासी अन्दाजी ७०–७१ वर्षीय सिताराम महर्जनलाई सडक छेउमा हिँडिरहेको अवस्थामा ठक्कर दिई फरार भएको थियो। ठक्करबाट गम्भीर घाइते भएका महर्जनको शरीरका विभिन्न भागमा चोट लागेको थियो।

घाइतेलाई प्रारम्भिक उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बज्रबाराहीमा लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि उनलाई साँझ ५ बजे सशस्त्र प्रहरी अस्पताल सतुङ्गल, काठमाडौँ लगिएको थियो। अस्पतालमा पुग्नासाथ डाक्टरले उनलाई मृत घोषणा गरेका हुन्।

मृतकको शव हाल सशस्त्र प्रहरी अस्पतालमा राखिएको छ भने ठक्कर दिएर फरार भएको सवारी साधनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। खोजी कार्यका लागि इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक सबिन बाबु अर्यालको कमान्डमा टोली खटिएको जिल्ला प्रहरी कार्यालय हेटौडा मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो।