हेटौंडा / मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका–१९ सान्नानटारस्थित पूर्व–पश्चिम राजमार्गको सडक छेउमा गम्भीर अवस्थामा फेला परेका एक पुरुषको मृत्यु भएको छ।
असार १४ गते राति करीब २:२५ बजे इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट प्रहरी नायब निरीक्षक प्रकाश कुमार खत्रीको कमाण्डमा खटिएको गस्ती टोलीले हाल नाम, थर र वतन नखुलेको अन्दाजी ४० वर्षको एक पुरुषलाई सडक छेउमा गम्भीर घाइते अवस्थामा फेला पारेको थियो। टाउकोमा गम्भीर चोट रहेको अवस्थामा फेला परेका ती पुरुषलाई सवारी साधनको ठक्करबाट घाइते भएको आशंका गरिएको जिल्ला प्रहरी कार्यालय हेटौडा मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो।
उद्धारपछि तत्काल उपचारका लागि हेटौंडा अस्पताल लगिएकोमा डाक्टरले सोही दिन बिहान ३:२० बजे मृत घोषणा गरेका हुन्। मृतकको शव हाल हेटौंडा अस्पतालमै राखिएको छ। घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको अर्यालले बताउनुभएको छ।

















