हेटौंडा / मकवानपुरको बागमती गाउँपालिका–९ बेतिनीमा शुक्रबार बिहान भएको एक दर्दनाक घटनामा कार्यालय सहयोगीले खुर्पा प्रहार गर्दा एक व्यक्तिको ज्यान गएको छ।
बिहान करिब ५:०० बजे बेतिनीस्थित स्वास्थ्य चौकीमा कार्यरत कार्यालय सहयोगी कुमार थापाले ५७ वर्षीय राम ब. वाइवालामाथि धारिलो हतियार खुर्पा प्रयोग गरी आक्रमण गरेका थिए। बाराको निजगढ नगरपालिका–३ निवासी ३५ वर्षीय थापाले प्रहार गर्दा वाइवालाको घाँटीमा गहिरो चोट लागेको थियो।
घटनापछि थापा सोही स्थानमा बसेर नजिक कोही आए मार्ने चेतावनी दिइरहेका थिए भन्ने सूचना बिहान ६:३० बजे इलाका प्रहरी कार्यालय फापरवारीमा प्राप्त भएको थियो। जानकारी पाएलगत्तै प्रहरी निरीक्षक पावल सिंह लामाको कमाण्डमा ६ जनाको टोली खटिई थापालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय हेटौडा मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो।
घाइते वाइवालालाई तत्कालै स्वास्थ्य चौकीमै उपचार गरिए पनि बिहान ७:४५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए। शवलाई पोष्टमार्टमका लागि हेटौंडा अस्पताल पठाइएको छ। घटनास्थलमा प्रहरी टोली पुगेर थप अनुसन्धान अगाडि बढाइरहेको अर्यालले जानकारी दिनुभयो।

















