हेटौंडा / २२औं राष्ट्रिय धान दिवस हेटौंडामा आधुनिक कृषि प्रविधिको प्रयोग र कृषिप्रति युवा पुस्ताको आकर्षण बढाउने प्रयाससहित मनाइएको छ। ‘धान बालीमा सघनता, खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ आइतबार सम्पन्न कार्यक्रममा मेयर मिना कुमारी लामाले धान रोप्ने मेसिन चलाउँदै प्रविधिमा आधारित खेतीको सन्देश दिइन्।
हेटौंडा–१७ राजदेवीमा आयोजित कार्यक्रमलाई हेटौंडा उपमहानगरपालिका र साना किसान कृषि सहकारी संस्था लिमिटेडले संयुक्त रूपमा आयोजना गरेका थिए। कार्यक्रममा विद्यार्थीहरुलाई खेतमै लगेर व्यावहारिक कृषिको अनुभव दिइएको थियो, जसले भविष्यका कृषक तयार पार्न मद्दत गर्ने अपेक्षा गरिएको छ।
धान दिवसको अवसरमा उपमहानगरपालिकाले धान पकेट क्षेत्रको रूपमा हेटौंडा–१७ मा विविध सहयोग कार्यक्रमहरु सञ्चालन गरेको छ। किसानलाई धानको बीउ, किटनाशक औषधि, ट्र्याक्टर, हातेपम्प र त्रिपाल उपलब्ध गराइएको छ।
यसैगरी, हेटौंडा–११ मा राप्ती तल्लोटोल टोलविकास संस्थाको आयोजनामा स्थानीय सांस्कृतिक झाँकीसहितको कार्यक्रम भएको थियो। मेयर लामासहित जनप्रतिनिधिहरुको उपस्थिति रहेको यस कार्यक्रमले स्थानीय तहबाट कृषि प्रवर्द्धनमा भइरहेको प्रयासलाई जनस्तरसम्म पुर्याएको छ।

















