हेटौंडा १५ रातोमाटेमा ब्रेक फेल भएर लहरी पल्टिँदा चालकको मृत्यु, सहचालक घाइते

Image

हेटौंडा / मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेमा ब्रेक फेल भएर लहरी ट्रक पल्टिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
असार १७ गते बिहान २:३० बजे भारतको बनारसबाट रिद्धिसिद्धि सिमेन्ट फ्याक्ट्रीतर्फ कोइला बोकेर आउँदै गरेको UP61AT 0962 नम्बरको लहरी ट्रक रातोमाटेस्थित पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चार्जिङ पोइन्ट नजिकै ब्रेक फेल भई सडकको दाहिने किनारमा पल्टिएको हो।

घटनाको जानकारी पाएपछि प्रहरी चौकी रातोमाटे र ट्राफिक प्रहरीको टोली घटनास्थलमा खटिएको थियो। दुर्घटनामा सहचालक भारत गाजिपुरका करिब २५ वर्षीय मनोज यादवलाई सामान्य अवस्थामै उद्धार गरी हेटौंडा अस्पताल पठाइएको छ।

ट्रकभित्र च्यापिएका चालक गाजिपुर, पुरैनियाका करिब ४०–४५ वर्षीय महेन्द्र यादवलाई बिहान ४:४५ बजे दुईवटा क्रेनको सहायताले गम्भीर अवस्थामै निकालिएको थियो। उपचारका लागि हेटौंडा अस्पताल लगिए पनि डाक्टरले बिहान ५:४५ बजे उनलाई मृत घोषणा गरेका हुन्।

प्रहरी निरीक्षक विमला कुमारी कठायतको कमाण्डमा थप टोली पनि घटनास्थलमा पुगेको थियो। मृतकको शव हाल हेटौंडा अस्पतालको शवगृहमा राखिएको छ भने दुर्घटनाग्रस्त ट्रकलाई सडकबाट साइडमा सारिएको जिल्ला प्रहरी कार्यालय हेटौडा मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो।