हेटौंडा/ गुणस्तरीय शिक्षामा सामुदायिक विद्यालय पनि सक्षम छन् भन्ने उदाहरण पेस गर्दै मकवानपुर गढी गाउँपालिका–५ स्थित श्री शारदा माध्यामिक विद्यालयले शैक्षिक सत्र २०८१ को SEE परीक्षामा १०० प्रतिशत नतिजा ल्याएर अभूतपूर्व सफलता हासिल गरेको छ।
उक्त उपलब्धिलाई सम्मान गर्दै हेटौंडा स्कुल अफ म्यानेजमेन्टले विद्यालयका २५ जना सफल विद्यार्थीहरूलाई प्रोत्साहनस्वरूप जनही २५०० रुपैयाँका दरले नगद सहयोग प्रदान गर्ने घोषणा गरेको छ।
वडा नं. ५ मा आयोजित एक बधाई तथा शुभकामना कार्यक्रममा हेटौंडा स्कुल अफ म्यानेजमेन्टका सञ्चालक पुरण बहादुर जोशीले विद्यार्थीको आगामी उच्च शिक्षामा थप हौसला मिलोस् भन्ने उद्देश्यले नगद सहयोगको घोषणा गर्नुभएको हो।
विद्यालयका अनुसार १ जनाले GPA ३.६ भन्दा माथि, ७ जनाले GPA ३.२ देखि ३.६, १३ जनाले GPA २.८ देखि ३.२ र ४ जनाले GPA २.४ देखि २.८ ल्याएर परीक्षा उत्तीर्ण गरेका छन्। सामुदायिक विद्यालयबाट यस्तो नतिजा आउनु शिक्षाको पहुँच र गुणस्तर दुवैमा सुधारको संकेत भएको वक्ताहरूले बताएका थिए।

















