१०७४ किलो गाँजा र २.७ किलो अफिमसहित सात जना पक्राउ

Image

हेटौंडा/ लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले विशेष सूचनाका आधारमा देशका दुई स्थानमा गरेको सफल अपरेसनमा १०७४ किलोग्राम गाँजा र २.७ किलोग्राम अफिमसहित ७ जना व्यक्तिलाई पक्राउ गरेको छ।

असार १६ गते बिहान ८:०० बजे, ब्यूरोबाट खटिएको प्रहरी टोली र स्थानीय प्रहरीको संयुक्त संयोजनमा मकवानपुर जिल्ला, कैलाश गाउँपालिका–५, कटहरेस्थित पोखरीबाट ठूलो परिमाणमा गाँजा घरमै सञ्चय गरेर राखेको अवस्थामा ४ जनालाई पक्राउ गरिएको हो। पक्राउ परेका व्यक्तिहरूमा ७३ वर्षीय हरीबहादुर वाइवा, ४८ वर्षीय बुद्धिबहादुर पाख्रिन उर्फ बद्रि, ३४ वर्षीय अरुण गोले र १९ वर्षीय राजेन्द्र लामा रहेका छन्। उनीहरूको साथबाट बरामद १०७४ किलो गाँजासहित आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पालुङ, मकवानपुरमा बुझाइएको छ।

त्यसै  साँझ ६:०० बजे, लागुऔषध नियन्त्रण ब्यूरोको धनगढी शाखाबाट खटिएको प्रहरी टोलीले कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–१ स्थित क्षेत्रबाट २.७ किलोग्राम अफिमसहित ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३४ वर्षीय लोकेन्द्र शाही (हुम्ला), २७ वर्षीय शालु शाही र ३२ वर्षीया पूर्णिमा पुन मगर (रोल्पा) रहेका छन्। उनीहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सुख्खड, कैलालीमा बुझाइएको ब्यूरोले जनाएको छ।

पक्राउ परेका सबै व्यक्ति विरुद्ध लागुऔषध (नियन्त्रण) ऐन २०३३ अनुसार आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको ब्यूरोका सह–प्रवक्ता प्रहरी नायव उपरीक्षक जीवन निरौलाले जानकारी दिएका छन्।