प्रेस स्वतन्त्रतामै प्रहार: प्रजिअको भिडियो प्रतिबन्धले पत्रकार झस्किए

Image

हेटौंडा/ मकवानपुरकी प्रमुख जिल्ला अधिकारी (प्रजिअ) स्किम श्रेष्ठले जिल्ला प्रशासन कार्यालय परिसर र आफ्नै कार्यकक्षमा फोटो तथा भिडियो खिच्न प्रतिबन्ध लगाएकी छन् । कार्यालय प्रवेशद्वार र कार्यकक्षबाहिर ‘अनुमति बिना फोटो भिडियो खिच्न मनाही छ’ भन्ने सूचनासहितको पम्प्लेट टाँसिएको छ, जसले पत्रकारहरुलाई समेत समेटिएको छ ।

पत्रकार महासंघ मकवानपुरको टोलीले उक्त विषयमा आपत्ति जनाउन कार्यालय पुग्दा प्रजिअ श्रेष्ठले स्पष्ट भनाइ दिइन्, “यहाँ धेरै किसिमका मानिस आउँछन्, जे जस्तो बोल्छन्, सबैको भिडियो खिचेर सार्वजनिक गर्दा उनीहरूलाई अप्ठेरो हुन सक्छ । त्यसैले मिडियाले पनि पहिले अनुमति लिनुपर्छ ।” उनले संसदसँग तुलना गर्दै भनिन्, “संसदमा जिम्मेवार सांसद हुन्छन्, यहाँ त जोसुकै आउँछन्, त्यसैले यहाँ संसदजस्तो नियम लागु हुँदैन ।”

गत असार ६ गते पत्रकारहरुलाई समाचार संकलनका क्रममा भिडियो खिच्न रोक लगाएको घटनालाई लिएर पत्रकार महासंघको जिल्ला र केन्द्रीय दुवै तहबाट विरोध प्रकट गरिएको थियो । असार १२ गते बसेको महासंघ मकवानपुरको बैठकले प्रेस स्वतन्त्रतामाथि भएको हस्तक्षेपप्रति खेद व्यक्त गर्दै ध्यानाकर्षण गराउने निर्णय गरेको थियो ।
बुधबार महासंघका अध्यक्ष बालकृष्ण अधिकारीको नेतृत्वमा प्रमुख जिल्ला अधिकारीलाई भेट्न गएको टोलीलाई प्रजिअ श्रेष्ठले फोटो तथा भिडियो खिच्न बन्देज जायज भएको बताउँदै कार्यक्रम तत्काल टुंग्याएकी थिइन् ।

नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले यो कदमप्रति आश्चर्य व्यक्त गर्दै भने, “अनुमति लिनुपर्ने क्षेत्र कानुनले निर्धारण गर्छ, व्यक्तिले होइन । प्रधानमन्त्री कार्यालयमा पनि यस्तो प्रतिबन्ध छैन, सीडीओ अफिसमा कसरी हुन्छ ?”

दबाबपछि प्रजिअ श्रेष्ठले कार्यकक्ष बाहिर टाँसिएको पम्प्लेट हटाउने र बैठक हलजस्ता स्थानमा खिच्न दिने प्रतिबद्धता व्यक्त गरेकी छन् । “कार्यकक्षभित्र चाहिँ अनुमति छैन, तर बाहिरका स्थानमा भने व्यवस्था मिलाउँछौं,” उनले भनिन् ।