कैलाश गाउँपालिकामा गोठभित्र लुकाएको १६८ किलो गाँजासहित एक जना पक्राउ

Image

हेटौंडा / लागूऔषध गाँजा लुकाई छिपाई राखिएको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले ठूलो परिणाममा गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

मकवानपुर जिल्ला कैलाश गाउँपालिका वडा नं. ०९ ठुलोवारी बस्ने ५५ वर्षीय अर्जुन रुम्बालाई निजकै घरअगाडि बसिरहेको अवस्थामा फेला पारी रीतपूर्वक शरिर तथा गोठ खानतलासी गर्दा गोठभित्र घाँस र स्याउलाले छोपी लुकाई राखिएको अवस्थामा १६८ किलो ३० ग्राम लागूऔषध गाँजा फेला परेको हो ।

उक्त गाँजा बरामद गरी अर्जुन रुम्बालाई नियन्त्रणमा लिई लागूऔषध मुद्दामा सम्मानित मकवानपुर जिल्ला अदालत हेटौडाबाट ७ दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो।