हेटौंडा / हेटौंडा–२ स्थित सिद्धार्थ माविले २०८१ सालको एसईई परीक्षामा ६७ प्रतिशत विद्यार्थीलाई सफल गराउँदै उल्लेखनीय शैक्षिक उपलब्धि हासिल गरेको छ। विद्यालयले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू र मेहनती शिक्षकहरूलाई एक समारोहबीच सम्मान गरेको हो।
बिहीबार विद्यालयमा आयोजित बधाई तथा सम्मान कार्यक्रम विद्यालय र वडा नम्बर २ कार्यालयको संयुक्त आयोजनामा सम्पन्न भयो। कार्यक्रममा ३.६१ देखि ४.०० जिपिए ल्याउने अनुप पौडेल, उज्ज्वल रेग्मी, गौरव घलान, सावन्त यादव, अन्जली घिमिरे र दिपा न्यौपानेलाई नगद ५ हजारसहित प्रशंसापत्र र खादा प्रदान गरियो।
त्यस्तै, ३.२१ देखि ३.६० जिपिए ल्याउने तथा विषयगत रूपमा २.६१ जिपिए हासिल गर्ने विद्यार्थीहरूलाई पनि प्रशंसापत्रमार्फत सम्मान गरियो।
विद्यालयका प्रधानाध्यापक परमानन्द सरोज कर्णका अनुसार, २०८१ को एसईई परीक्षामा सहभागी १४० जना विद्यार्थीमध्ये ९४ जना उत्तीर्ण भएका छन्। उत्तीर्णमध्ये ३.६१ देखि ४.०० जिपिए ल्याउने ६ जना, ३.२१ देखि ३.६० ल्याउने ३१ जना, २.८१ देखि ३.२० ल्याउने २८ जना र २.४१ देखि २.८० जिपिए ल्याउने २९ जना रहेका छन्।
कार्यक्रममा विभिन्न विषयमा उत्कृष्ट प्रदर्शन गर्ने १५ जना विषयगत शिक्षकलाई पनि खादा, प्रशंसापत्र, डायरी र कलमले सम्मान गरिएको थियो।
प्रधानाध्यापक कर्णको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं. २ का वडाध्यक्ष विष्णु गोपाल महर्जन प्रमुख अतिथि थिए भने शिक्षा विकास समन्वय इकाई मकवानपुरका प्रमुख सुदिप गिरी विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
कार्यक्रममा बोल्दै वडाध्यक्ष महर्जनले २ नम्बर वडामा रहेको एकमात्र सामुदायिक विद्यालय सिद्धार्थ माविको नतिजाले क्षेत्रको शैक्षिक स्तर माथि उकास्न सहयोग पुगेको बताए। उनले आगामी वर्ष थप विद्यार्थी उत्तीर्ण गराउनेमा आशावादी रहेको उल्लेख गर्नुभयो।
विशिष्ट अतिथि गिरीले विद्यालयको समर्पित प्रशासन, शिक्षक र विद्यार्थीको संयुक्त प्रयासबाट प्राप्त नतिजालाई सराहना गरे। कार्यक्रममा वडा सदस्य सुरज बतौँला, इन्द्र रिजाल, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष बलराम घिमिरे, सदस्य पिताम्बर बास्तोला, सिद्धार्थ ल क्याम्पसका सहायक प्रमुख राजु गौतम, अभिभावक, शिक्षक तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।

















