हेटौंडा / समाजमा दिनानुदिन बढ्दै गएको लागूपदार्थ सेवनप्रति गम्भीर चिन्ता व्यक्त गर्दै बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले यस समस्याको न्यूनीकरणका लागि मन्त्रालय सक्रिय रूपमा लागेको बताउनुभएको छ।
शुक्रवार हेटौंडामा आयोजित ‘लागूपदार्थ सेवन परीक्षण किट हस्तान्तरण कार्यक्रम’मा बोल्दै मन्त्री थापाले लागूपदार्थ प्रयोग सवारी चालक मात्र नभई समग्र समाजका लागि खतरा भएको उल्लेख गर्नुभयो। “एउटा व्यक्तिको कुलतले पूरै परिवार र समाज कलंकित हुन्छ,” उहाँले भन्नुभयो, “समस्या समाधानका लागि चेतनामूलक र सुधारात्मक कार्यक्रमहरू व्यापक रूपमा अघि बढाउनु जरुरी छ।”
मन्त्री थापाले लागूपदार्थ सेवन गरी सवारी सञ्चालन गर्ने चालकको लाइसेन्स खारेजका लागि सम्बन्धित मन्त्रालयहरूसँग समन्वय भइरहेको जानकारी पनि दिनुभयो। यस्तो कदमले सडक सुरक्षामा सकारात्मक असर पार्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।
स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमले एकचोटि कुलतमा फसेपछि त्यसबाट बाहिरिन गाह्रो हुने हुँदा पूर्वरोकथाममै जोड दिनुपर्ने बताउनुभयो। लागूपदार्थ नियन्त्रणका लागि वर्षभर निरन्तर परीक्षण आवश्यक रहेको उहाँको भनाइ थियो।
कार्यक्रममा बागमती प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन समितिका प्रहरी उपरीक्षक नरेश सुवेदीले लागूपदार्थ सेवनले सवारी दुर्घटना र आपराधिक गतिविधिमा उल्लेखनीय वृद्धि भएको जानकारी दिनुभयो। किशोर, युवा र एम्बुलेन्स चालकसमेत यसको चपेटामा परेको उहाँले उल्लेख गर्नुभयो।
स्वास्थ्य मन्त्रालयले सडक दुर्घटना न्यूनीकरण र लागूपदार्थ नियन्त्रणलाई प्राथमिकतामा राख्दै १३४० थान परीक्षण किट ट्राफिक प्रहरीलाई हस्तान्तरण गरेको हो। ती किटहरू मन्त्री थापाले एसपी सुवेदीलाई हस्तान्तरण गर्नुभएको हो।

















