हेटौंडा/ मकवानपुरको भिमफेदी गाउँपालिका–१ बागझोरा स्थित हेटौंडा–भैँसे सडकखण्डमा प्रहरीले ६ किलो ८२० ग्राम लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
असार १९ गते राति करीब ११:३० बजे प्रहरीले सवारी चेकजाँचको क्रममा बा.९४ प ८०८६ नम्बरको मोटरसाइकललाई रोकेको थियो। भैँसेतर्फबाट हेटौंडा बजारतर्फ आउँदै गरेको उक्त मोटरसाइकल जाँच गर्दा चालक हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङ निवासी ३६ वर्षीय कुमार सिंह गोलेको साथबाट शंका लागि झोला जाँच गर्दा लुकाई छिपाई राखिएको अवस्थामा ६ किलो ८२० ग्राम गाँजा फेला परेको हो।
प्रहरी चौकी चौकीटोल मकवानपुरबाट खटिएको टोलीले उक्त गाँजासहित मोटरसाइकल समेत बरामद गरेको छ। गोलेमाथि लागुऔषध कसुरमा मकवानपुर जिल्ला अदालतबाट चार दिनको म्याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो।

















