हेटौंडा । नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाको आयोजनामा जिल्लाभरिका २९ वटै उपशाखाको सहभागितामा बिपद् व्यवस्थापनसम्बन्धी समन्वय बैठक सम्पन्न भएको छ ।
बैठकले जिल्लामा हुन सक्ने बिपद् जोखिमलाई न्यूनीकरण गर्न आवश्यक सामग्री तथा जनशक्तिको व्यवस्थापन गर्दै सम्पूर्ण तालिमप्राप्त स्वयंसेवकहरूलाई तयारी अवस्थामा राख्ने, उपशाखाको वैधानिक दायित्व पूरा गर्दै वार्षिक साधारणसभाको तयारी गर्ने लगायतका महत्त्वपूर्ण निर्णयहरू गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाका उपसभापति यसोदा श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा जिल्ला शाखाकी मन्त्री सुमित्रा काफ्लेले समग्र बिपद् व्यवस्थापन तथा उपशाखाको परिचालनबारे जानकारी गराउँदै छलफल गर्नुभएको थियो ।
त्यसैगरी, उपमन्त्री शिवहरि दाहालले जुनियर/युवा सर्कल तथा स्वयंसेवक परिचालनका विषयमा विस्तृत छलफल गर्नुभएको थियो । बैठकमा कोषाध्यक्ष किशोर बर्तौला, उपकोषाध्यक्ष मंगल रखाल, सदस्यहरू रामजी सापकोटा, पिताम्बर बास्तोला, नारायण तिमल्सिना, कार्यालय प्रमुख लक्ष्मण भट्टराई, लेखा प्रमुख रामजी खतिवडा लगायत उपशाखाका सभापति, सचिव तथा पदाधिकारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

















