हेटौंडा / नेपाल चिकित्सक संघको आह्वानमा आज देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवाबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको छ । उपभोक्ता अदालतले चिकित्सक र अस्पताललाई उपचारमा लापरबाहीको आरोपमा क्षतिपूर्ति तिराउने क्रम तीव्र बनेपछि संघले चरणबद्ध आन्दोलनको कार्यक्रम सार्वजनिक गर्दै सेवा बहिष्कार थालेको हो ।
संघले विद्यमान कानुनी व्यवस्थामा सुधारको माग गर्दै देशभरका स्वास्थ्य संस्था तथा अस्पतालमा दबाबमूलक आन्दोलन सुरु गरेको छ । आकस्मिकबाहेकका सेवा ठप्प हुँदा उपचारका लागि आएका बिरामीहरू ठूलो कठिनाइमा परेका छन् ।
नेपाल स्वास्थ्यकर्मी संघ मकवानपुरले पनि आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ भने जिल्लाका नौवटा स्वास्थ्य संस्थाले चिकित्सक संघको आन्दोलनलाई समर्थन गरेका छन् ।

















