हेटौंडा / बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याइएको ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट कार्यक्रमलाई सोमबारको बैठकले अनुमोदन गरेसँगै अब साउन १ गतेदेखि बजेट कार्यान्वयनको बाटो खुलेको हो।
अर्थसम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न पेश गरिएको विनियोजन विधेयक २०८१ र अन्य विधेयकहरू पनि प्रदेश सभाले बहुमतले पारित गरेको हो। प्रदेश सरकारको बजेटसँगै प्रस्तुत गरिएको पूरक प्रस्तावसमेत बैठकले स्वीकृत गरेको छ।
असार १ गते प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले बजेट प्रस्तुत गर्नुभएको थियो। बजेटमाथिको छलफल असार १२ गतेदेखि सुरु भए पनि दलहरूबीचको विवादका कारण बैठक पटक–पटक स्थगित हुँदै आएको थियो।
बजेटमाथि छलफलका क्रममा विपक्षी दल मात्र होइन, सत्तारूढ दलकै सांसदहरूले समेत असन्तुष्टि व्यक्त गर्दै प्रश्न उठाएका थिए। उठाइएका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिएपछि अन्ततः बजेट बहुमतले पारित गरिएको हो।
बजेटप्रति असन्तुष्टि कायमै रहे पनि बागमती प्रदेश सरकारले अन्ततः बहुमतको बलमा आगामी आर्थिक वर्षको बजेट पारित गराएको हो।

















