रसुवाको बाढी पीडितप्रति कांग्रेस बागमतीको गहिरो दुःख, उद्धार र राहतमा तीन तहको सरकारलाई अपिल

Image

हेटौंडा/ रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण भएको ठूलो जनधनको क्षतिप्रति नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले गहिरो दुःख व्यक्त गरेको छ। बाढीले धादिङको त्रिशूली नदीमा दुईजनाको शव फेला परेको, तीन प्रहरी र छ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन भएको विवरणसहित कांग्रेसले संवेदना प्रकट गरेको हो।

नेपाल–चीन जोड्ने मितेरी पुल, कन्टेनर, गाडी बगाउनुका साथै रसुवागढी जलविद्युत् आयोजनाको बाँधको गेट बगाउनु, त्रिशूली ३ ए र ३ बी आयोजनामा क्षति पुग्नु, सडक सञ्जाल अवरुद्ध हुनुजस्ता क्षतिका बीच नेपाली कांग्रेसले उद्धार तथा राहत कार्य प्रभावकारी बनाउन सरकारका सबै तहलाई अपिल गरेको छ।

सभापति ईन्द्रबहादुर बानियाँद्वारा हस्ताक्षरित अपिलमा प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी सहितको उद्धार टोली खटाउन, सम्पर्कविहीनहरुको खोजी तीव्र गर्न, पीडितलाई राहत उपलब्ध गराउन तथा सडक मर्मत गर्न आग्रह गरिएको छ। साथै पार्टीका सबै तहका कार्यकर्ता, शुभेच्छुक संस्थाहरुलाई सरकारी संयन्त्रसँग सहकार्य गर्दै उद्धार र राहतमा सक्रिय हुन निर्देशन दिइएको छ।

प्राकृतिक प्रकोपमा परी ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै कांग्रेसले शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।