मकवानपुरको जुरेथुम जंगलमा पुरुषको शव सडेको अवस्थामा फेला

Image

हेटौंडा / मकवानपुर जिल्लाको थाहा नगरपालिका–४ जुरेथुमस्थित जगरघारी जंगलमा एक अज्ञात पुरुषको शव सडिएको अवस्थामा फेला परेको छ।

असार २६ गते दिउँसो करिब १:१५ बजे स्थानीय बासिन्दाले जंगलमा शव देखेपछि प्रहरी चौकी सिमभञ्ज्याङलाई खबर गरेका थिए। सूचना प्राप्त हुने बित्तिकै प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो।

थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक सबिन बाबु अर्याल को नेतृत्वमा अनुसन्धान टोली घटनास्थल पुगेको थियो। टोलीले घटनास्थलमा शव चारै अंग सडेर गलेको, उत्तानो अवस्थामा रहेको पाइएको जानकारी दिएको छ।

शवको नजिकै करिब ५–७ मिटरको दूरीमा निलो ट्र्याकप्यान्ट, कालो कट्टु र सेतो धर्के सर्ट फेला परेको छ भने २००–३०० मिटर टाढा चप्पल समेत भेटिएको प्रहरीले जनाएको छ।

शवको पहिचान खुल्न नसकेको र घटनाको प्रकृति खुल्न बाँकी रहेकोले विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।