हेटौंडा/ मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–४ महालक्ष्मीस्थित सडक निर्माणस्थलमा सुख्खा पहिरो खस्दा एक जना मजदुर गम्भीर घाइते भएका छन्।
मंगलबार बिहान ८:१५ बजे नाली निर्माणको काम गर्दै गरेका खोटाङ जिल्ला लामिडाँडाँ घर भइ हाल इन्द्रसरोवरमा कार्यरत २० वर्षीय केशव मगर अचानक माथिबाट खसेको सुख्खा पहिरोका ढुङ्गाले टाउको र ढाडमा लाग्दा गम्भीर घाइते भएका हुन्। बोल्न नसक्ने अवस्थामा रहेका उनलाई उपचारका लागि तत्काल काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी फाखेलबाट प्रहरी निरीक्षक कमल बहादुर खत्रीको टोली खटिएको थियो। टोलीले तत्काल उद्धार गरी घाइतेलाई थप उपचारको व्यवस्था मिलाएको हो।

















