इन्द्रसरोवरमा पौडी खेल्ने क्रममा डुबेका युवकको शव खोचमा फेला

Image

हेटौंडा/ मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१ सिम्लाङ खोलामा पौडी खेल्ने क्रममा डुबेका युवक मृत अवस्थामा फेला परेका छन्।

शनिबार दिउँसो बाराको कलैया उपमहानगरपालिका–१ घर भई हाल काठमाडौं माइतीघर बसोबास गर्ने करिब १७/१८ वर्षीय कर्ण भनिने प्रणय गुप्ता आफ्ना ७ जना साथीहरुसँग सिम्लाङ खोला पुगेका थिए। पौडी खेल्ने क्रममा डुबेका उनी घटनास्थलबाट झण्डै २ सय मिटर तलको खोचमा मृत फेला परेको प्रहरीले जनाएको छ।

घटनाको जानकारी प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस कुलेखानीबाट सशस्त्र प्रहरी निरीक्षक अमृत थापाको नेतृत्वमा टोली खटिएको थियो। साथै, इलाका प्रहरी कार्यालय चित्लाङबाट समेत प्रहरी टोली परिचालित भएको थियो।
प्रहरीका अनुसार मृतकको शव पोस्टमार्टमका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ।