हेटौंडा / मकवानपुरको कैलाश गाउँपालिका-३ स्थित विपन्न र जोखिममा परेका बालबालिकाका लागि सञ्चालित भनिएको एक बालगृहमा बस्दै आएकी र किशोरीलाई पटक-पटक बलात्कार गरेको अभियोग लागेका सोही बालगृहका अधिकृत ४८ वर्षीय मधुसुदन राउत पक्राउ परेका छन् । असार ८ गते पीडित किशोरीले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राउत विरुद्ध जाहेरी दर्ता गरे पनि राउत पक्राउ परेका थिएनन् ।
शुक्रबार बिभिन्न मिडियामा समाचार प्रकाशन भएपछि राउतलाई प्रहरीले काठमाडौको काँडाघारी क्षेत्रबाट शुक्रबार दिउँसो नै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।
दर्ता भएको जाहेरीका आधारमा राउतलाई शुक्रबार काठमाडौमा पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याइएको र आइतबार म्याद थप गरी थप अनुसन्धान अघि बढाइने अर्यालले जानकारी दिनुभयो ।
१७ वर्षीया किशोरी चार वर्षदेखि सांग्रीला डेभलपमेन्ट एसोसिएसनले सञ्चालन गर्दै आएको होस्टेलमा बस्दै आएकी थिईन् । उनका बाबुको केही वर्षअघि दुर्घटनामा मृत्यु भएको थियो भने आमा सम्पर्कविहीन छिन् । मामाघरको हजुरआमासँग बसिरहेकी उनी कमजोर आर्थिक अवस्थाका कारण बालबालिका संरक्षणका लागि खोलिएको भनिएको होस्टेलमा थिइन् । हाल त्यहाँ उनीसहित १५ जना बालिकाहरु छन्। तर, गत जेठ १ गतेदेखि ८ गतेसम्मकै अवधिमा होस्टेल प्रमुख मधुसुदन राउतले आफूलाई पटक-पटक बलात्कार गरेको पीडितले जाहेरीमा उल्लेख गरेकी छिन् ।
अधिकृत मधुसुदन राउतले गत जेठ १ गतेदेखि असार ८ गतेसम्मकै बीचमा आफूलाई पटक-पटक बलात्कार गरेको आरोप छ । पीडित किशोरीलाई अहिले हेटौँडाको एक सेफ हाउसमा राखिएको छ। जाहेरीका अनुसार होस्टेलको कर्मचारी राउतको कोठामा दुध पुऱ्याउन गएको बेला ती किशोरीलाई बलात्कार गरिएको आरोप छ। पछि धम्की र मानसिक दबावमा राखेर पटक-पटक जबर्जस्ती गरेको आरोप पीडितले लगाएकी छिन् । ती किशोरीमाथि १८ महिना पहिले पनि बलात्कार भएको भन्दै उजुरी परेको थियो ।

















