राक्सिराङ गाउँपालिकाबाट दीर्घरोगीहरूका लागि औषधि खर्च नवीकरण सम्बन्धी सूचना

Image

हेटौंडा/ राक्सिराङ गाउँपालिकाले मृगौला प्रत्यारोपण गरिएका, डायलाइसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका दीर्घरोगी लाभग्राहीहरूलाई चालु आर्थिक वर्ष २०८२/०८३ का लागि औषधि उपचार खर्च नवीकरण गर्न साउन १ गतेदेखि ३१ गतेसम्म वडा कार्यालयमार्फत निवेदन दर्ता गर्न अनुरोध गर्दै सूचना जारी गरेको छ।

नवीकरणका लागि लाभग्राहीहरूले चिकित्सकको सिफारिस (अनुसूची-१ अनुसार), निर्धारित ढाँचाको निवेदन (अनुसूची-२ अनुसार), नागरिकता वा जन्मदर्ता प्रमाण, गरिबी परिचयपत्र, राष्ट्रिय परिचयपत्र, र बैंक खातासम्बन्धी विवरण सहित वडा कार्यालयमा निवेदन पेश गर्नुपर्नेछ। वडाको सिफारिससहित गाउँपालिकाको स्वास्थ्य शाखामा उपस्थित भई औपचारिक प्रक्रिया पूरा गर्नु पर्नेछ।

गाउँपालिकाले तोकिएको समयावधिभित्र निवेदन दर्ता नगर्ने लाभग्राहीहरूलाई चालु वर्षको औषधि खर्च नदिइने स्पष्ट पारेको छ। यद्यपि, कुनै लाभग्राही छुटेको खण्डमा पुनःनिवेदन दिएपछि नयाँ लाभग्राहीसरह औषधि खर्च पाउन सक्ने व्यवस्था पनि गरिएको छ।
गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक विजय कुमार काप्रीद्वारा हस्ताक्षरित सूचनामा यदि लाभग्राही अशक्त छन् भने निजका हकदारले नवीकरण प्रक्रिया पूरा गर्न सक्ने उल्लेख गरिएको छ।