हेटौंडा/ भिमफेदी गाउँपालिका वडा नम्बर १ स्थित कमलमत्ता थिंग टोलका बासिन्दाहरूका लागि सुखद खबर छ। लामो समयदेखि डोको र नाम्लोको सहारामा टाढाबाट पानी ओसार्दै आएका यहाँका २२ घरधुरीका परिवारहरूको जीवनशैलीमा परिवर्तन ल्याउने गरी व्यवस्थित खानेपानी आयोजना निर्माण सम्पन्न भएको भिमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले शुद्ध खानेपानीको धारा उत्घाटन गर्नु भयो।
उक्त आयोजना सम्पन्न भएसँगै स्थानीयवासीले आफ्नै घरआँगनमै सुरक्षित र पर्याप्त पानी पहुँच पाउने भएका छन्। जीवन निर्वाहका आधारभूत आवश्यकता पूरा गर्ने दिशामा लिएको यो महत्वपूर्ण कदमले दैनिक श्रमको बोझ कम गर्नुका साथै स्वच्छता र स्वास्थ्यमा समेत सकारात्मक असर पार्ने स्थानीयको भनाइ छ।
गाउँमा पानी आएसँगै उत्साहित भएका बासिन्दाहरूले खुसी व्यक्त गर्दै “अब डोको नाम्लोको दुःख सकियो” भन्दै उत्सवकै माहोल बनाउदै गाउँपालिका लाई धन्यवाद दिएका छन्।
गाउँमा खानेपानी बिस्तारको उपलब्धिलाई स्थानीयले ऐतिहासिक उपलब्धिका रूपमा लिएका छन्। आयोजना कार्यान्वयनमा प्रत्यक्ष–परोक्ष सहयोग गर्ने सबै निकाय, संघसंस्था र व्यक्तिप्रति आभार प्रकट गर्दै धन्यवाद व्यक्त गरिएको छ।

















