हेटौंडा / साउन ५ गते साँझ ५:४५ बजे मकवानपुरको रातोमाटे चेकपोइन्टमा खटिएको प्रहरी टोलीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोइन्टमा सवारी चेकजाँचको क्रममा बा ८८ प १९८१ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा लागूऔषध फेला पारेको हो। मोटरसाइकल बर्दिबासबाट हेटौडातर्फ जाँदै थियो।
उक्त मोटरसाइकल चालक जिल्ला कपिलबस्तुको बागगंगा नगरपालिका–६ स्थायी घर भई हाल काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१ मा बसोबास गर्ने १९ वर्षीय विकास राज पाण्डे र पछाडि सवार २२ वर्षीय कबिन चन्दन (हाल ऐ.ऐ. बसोबास) लाई प्रहरीले शंका लागि खानतलासी गर्दा उनीहरूका साथबाट १ ग्राम ७१० मिलिग्राम खैरोहेरोइन जस्तो देखिने लागूऔषध फेला परेको हो।
बरामद लागूऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी मुद्दामा अनुसन्धानका लागि सम्मानित मकवानपुर जिल्ला अदालतबाट म्याद थप अनुमति लिई आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो।

















