प्रतिनिधि सभाको बैठकमा सांसद महेश बर्तौलाले सरकार समक्ष दुई महत्वपूर्ण राष्ट्रिय मुद्धामा प्रश्न

Image

हेटौंडा / बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद महेश बर्तौलाले सरकार समक्ष दुई महत्वपूर्ण राष्ट्रिय मुद्धामा प्रश्न गर्नुभएको छ।

उहाँको प्रश्नलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको स्पष्ट धारणा संसदमा सार्वजनिक गर्नुभएको हो।
सांसद बर्तौलाले काठमाडौँ–हेटौँडा बीच निर्माणको प्रस्तावमा रहेको रोपवेको सट्टामा आधुनिक बोर्डवे (पोडवे) प्रविधि प्रयोग गर्दै परियोजना अघि बढाउने विषयमा सरकारको प्राथमिकता र स्रोत व्यवस्थापनबारे प्रश्न गर्नुभएको थियो।

जवाफमा प्रधानमन्त्री ओलीले चालु आर्थिक वर्षको बजेटमै ४२ किलोमिटर लामो काठमाडौं–हेटौँडा मार्गमा विद्युतीय शक्तिबाट चल्ने स्मार्ट पोर्डवे प्रविधिको सम्भाव्यता अध्ययन गर्न बजेट विनियोजन गरिएको जानकारी दिनुभयो। “यदि सम्भाव्यता अध्ययन सकारात्मक आयो भने, सो परियोजना निर्माणतर्फ सरकार दृढतापूर्वक अघि बढ्नेछ,” उहाँले भन्नुभयो।

त्यसैगरी सांसद बर्तौलाले भौगोलिक रूपमा विकट, असुरक्षित तथा विपद् जोखिमयुक्त स्थानमा रहेका छरिएका वस्तीहरूलाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा पनि प्रश्न गर्नुभएको थियो।
प्रधानमन्त्री ओलीले जवाफ दिँदै दिगो विकास, सेवा सुविधाको पहुँच र विपद् जोखिम न्यूनीकरणका लागि नेपाल सरकारले एकीकृत बस्ती विकासलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो। उहाँका अनुसार, २०७२ सालको भूकम्पपछि सुरु गरिएको एकीकृत बस्ती अवधारणाअन्तर्गत हालसम्म देशभर ९७ वटा सुरक्षित एकीकृत बस्तीहरू निर्माण भइसकेका छन्।

“स्थानीय तह र संघसंस्थासँग सहकार्य गर्दै शिक्षा, स्वास्थ्य, सडक, विद्युत् जस्ता आधारभूत सेवा समेटिएका सुरक्षित
बस्तीहरू निर्माण गरिरहेका छौं,” प्रधानमन्त्री ओलीले भन्नुभयो।
बैठकमा प्रधानमन्त्रीले देशको भौगोलिक चुनौती, प्रविधिको उपयोग र दीर्घकालीन योजनाबारे स्पष्ट धारणा व्यक्त गर्दै सांसद बर्तौलाका प्रश्नहरूलाई गम्भीरतापूर्वक सम्बोधन गर्नुभएको थियो।