हेटौंडा / ‘हरियाली हाम्रो पहिचान, वृक्षरोपण हाम्रो अभियान’ भन्ने नारासहित राष्ट्रिय युवा संघ नेपाल मकवानपुरले हेटौंडा–९ स्थित कर्णावती छ्योदेन गुम्बा परिसरमा वृक्षरोपण गर्दै एक महिने विशेष अभियानको थालनी गरेको छ।
शनिबार सम्पन्न कार्यक्रममा गुम्बा परिसरको खाली जमिनमा कागती, अम्बा, लिच्ची, जामुन, तेजपत्ता लगायतका १ सयभन्दा बढी फलफूल जातका बिरुवाहरू रोपिएका हुन्। अभियान राष्ट्रिय युवा संघ मकवानपुर जिल्ला कमिटीको आयोजनामा र संघका अध्यक्ष राजेश नगरकोटीको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर राना प्रमुख अतिथि रहनुभएको थियो। त्यस्तै, पूर्वमन्त्री तथा बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ, एमाले जिल्ला उपाध्यक्ष हिदम लामा, सचिव सीता बिष्ट, उपसचिव आरती पाठक, फूर्वा दोर्जे लामा, युवा संघका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज प्रतिमा श्रेष्ठ, केन्द्रीय सदस्य सागर पाण्डे,वडा नं. १५ का वडा अध्यक्ष सुनिल मोक्तान , वडा नं ९ का वडा अध्यक्ष सुकराम केसी लगायतको उपस्थिति रहेको थियो।
अध्यक्ष नगरकोटीका अनुसार असार १४ गतेदेखि साउन १४ गतेसम्म सञ्चालन हुने वृक्षरोपण अभियान अन्तर्गत सोही दिन थाहा नगर कमिटीले पनि पालुङमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ। अभियानमार्फत पर्यावरण संरक्षणमा युवाको सक्रिय भूमिका सुनिश्चित गर्ने लक्ष्य रहेको संघले जनाएको छ।

















