हेटौंडा/ सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ स्थित छेत्पा नजिकको भण्डास बिप्पर कटेरीमा बसोबास गर्दै आएकी उर्मिला हायुको परिवारका १६ जना सदस्य रहस्यमय तरिकाले बेपत्ता भएका छन्। लोपोन्मुख हायु जातिसँग सम्बन्धित यो घटना सार्वजनिक भएपछि स्थानीयस्तरमा त्रास र चासो दुवै फैलिएको छ।
घर एकान्तमा रहेको र वरपर अरू बस्ती नहुँदा परिवार सम्पर्कविहीन भएको थाहा पाउन ढिलाइ भएको गोलन्जोर गाउँपालिका अध्यक्ष शंकरराज बरालले बताएका छन्। “शुक्रबार वा शनिबारबाटै हराएको अनुमान गरिएपनि स्थानीयले सोमबार बिहान मात्र जानकारी दिएपछि हामीले प्रहरीलाई खबर गरेका हौं,” उनले भने।
घटनाको गम्भीरता बुझेर पालिकाबाट तत्काल कर्मचारी खटाइएको छ भने जिल्ला प्रहरी कार्यालय सिन्धुलीले इन्स्पेक्टरसहितको टोली परिचालन गरी घरमै पुगेर अनुसन्धान थालेको छ।
प्रहरीका अनुसार घरभित्र सामान्य क्षति देखिएको छ भने उनीहरूले पालेका कुखुरा र बाख्रा समेत अलपत्र अवस्थामा भेटिएका छन्। “सामाजिक सुरक्षा भत्ता लिन गएका हुन् कि भन्ने आशंका पनि गरिएको छ,” जिल्ला प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीले बताए।
घटनालाई रहस्यमय मान्दै स्थानीय प्रशासन, वडा कार्यालय र प्रहरीले सामूहिक रुपमा अनुसन्धान तीव्र बनाएको छ। हराइरहेका १६ जना व्यक्तिको अवस्था र सम्भावित कारणबारे यथार्थ पत्ता लगाउन खोजी कार्य अझ व्यापक बनाइएको एसपीले बताइएको छ।

















