बेपत्ता भनिएका हायु परिवारका १२ जना सम्पर्कमा

Image

हेटौंडा/ सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट एकै परिवारका १६ जना अचानक बेपत्ता भएपछि चासो बढेको घटनाले नयाँ मोड लिएको छ । तीमध्ये १२ जना पोखरामा फेला परेका छन् । उनीहरू आफन्तसँग सम्पर्कमा आएका हुन् ।

स्थानीय उर्मिला हायूको परिवारका सदस्यहरू भण्डास विप्पर कटेरी क्षेत्रमा बसोबास गर्दै आएका थिए । गत चार दिनदेखि सम्पर्कविहीन भएपछि स्थानीय र प्रहरीले खोजी कार्य सुरु गरेका थिए । खोजी क्रममा उनीहरू पोखरास्थित लेकसाइडको होटल जननी मा शनिबारबाट बसेको पुष्टि भएको छ ।

होटल सञ्चालक सुनिल भूर्तेलका अनुसार उनीहरू तीन वटा कोठा लिएर बसेका थिए र आइतबार नै होटलबाट निस्किएका जनाईएको छ। उनिहरु लाई पोखरा महानगरपालिका–३० स्थित गगनगौंडा भन्ने ठाउँमा भेटिएको जिल्ला प्रहरी कास्कीका एसपी श्यामबाबु ओलियाले जानकारी दिए । उनका अनुसार, सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा भेटिएका हुन् । ‘दुईवटा घरमा बाँडिएर बसेका रहेछन्,’ उनले भने । उनीहरूलाई अहिले इलाका प्रहरी कार्यालय सिसुवा ल्याएर आफन्तको जिम्मा लगाउने जानकारी उनले दिए।